रसुवा बाढीको कृषि क्षेत्रमा ठूलो धक्का, १८ सय हेक्टर जमिनमा क्षति
काठमाडौं । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालनमा ठूलो क्षति पुर्याएको छ। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को प्रारम्भिक मूल्याङ्कनअनुसार करिब १ हजार ८ सय हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेको छ भने हजारौँ पशुपन्छी मरेका वा हराएका छन्।
बाढीका कारण विशेषगरी धानबालीमा ठूलो क्षति पुगेको छ। खेतहरू माटो र गेग्रानले पुरिएका छन् भने माछापोखरी, खाद्य भण्डार र कृषि पूर्वाधारसमेत प्रभावित भएका छन्। प्रारम्भिक अनुमानअनुसार बाढीबाट करिब ७ हजार ७ सय मेट्रिक टन कृषि उत्पादन गुम्न सक्ने देखिएको एफएओले जनाएको छ।
यसको असर अहिलेको बालीमा मात्र सीमित छैन। कृषि उत्पादन र आम्दानीमा निर्भर परिवारका लागि बाढीले आगामी खेतीको तयारीसमेत कठिन बनाएको छ। सडक, पुल तथा बजारमा पुगेको क्षतिका कारण खाद्यान्न, पशु आहारा, दूध तथा कृषि सामग्रीको आपूर्ति प्रभावित भएको छ।
एफएओकी उपमहानिर्देशक बेथ बेचडोलले बाढीले घर र भौतिक संरचनासँगै ग्रामीण परिवारको खाद्य सुरक्षा तथा जीविकोपार्जनको आधारमा समेत गम्भीर असर पारेको बताएकी छन्।
उनका अनुसार खेतबारी बगेपछि वा गेग्रानले पुरिएपछि किसानले तत्कालको उत्पादन गुमाएका छन्। माछापोखरी बग्नु तथा कृषि पूर्वाधारमा क्षति पुग्नुले आम्दानीका स्रोत पनि कमजोर भएका छन्।
पशुधनमा पनि ठूलो क्षति
बाढी प्रभावित क्षेत्र नेपालका महत्त्वपूर्ण पशुपालन क्षेत्रमध्ये पर्छन्। प्रभावित ११ पालिकामा बाढीअघि करिब ३ लाख ५० हजार गाई, भैँसी, भेडा र बाख्रा तथा १६ लाखभन्दा बढी कुखुरा रहेको तथ्याङ्क छ।
एफएओका अनुसार हजारौँ पशुपन्छी बाढीमा मरेका वा हराएका छन्। प्रारम्भिक अनुमानमा प्रभावित क्षेत्रको पशुधन तथा कुखुराको कुल सङ्ख्याको ५ देखि १० प्रतिशतसम्म क्षति भएको हुन सक्ने देखिएको छ।
‘एउटा पशु गुमाउनु किसान परिवारका लागि खाद्य स्रोत गुमाउनु मात्र होइन, भविष्यको आम्दानी र उत्पादनको आधार गुमाउनु पनि हो,’ बेथले भनेकी छन्।
अबको प्राथमिकता : बीउ, आहारा र पशु स्वास्थ्य
बाढीपछि प्रभावित किसानलाई तत्काल बीउबिजन उपलब्ध गराउनु आवश्यक रहेको एफएओले जनाएको छ। आगामी खेतीको याम सुरु हुनुअघि उत्पादन प्रणालीलाई पुनः सञ्चालनमा ल्याउन नसके बाढीको प्रभाव अझ लामो समयसम्म रहन सक्ने उसको आकलन छ।
त्यस्तै, पशुपन्छीका लागि पर्याप्त आहारा र स्वास्थ्य सेवा उपलब्ध गराउनु पनि तत्कालको आवश्यकता बनेको छ। बाढीपछि पशुमा विभिन्न रोग फैलिन सक्ने जोखिम बढ्ने भएकाले खोप, उपचार तथा रोग निगरानीलाई प्राथमिकता दिनुपर्ने एफएओको भनाइ छ।
क्षतिको विस्तृत अध्ययन हुँदै
नेपाल सरकारसँगको सहकार्यमा एफएओले बाढीबाट कृषि, पशुधन, मत्स्य क्षेत्र, खेतीयोग्य जमिन र कृषि पूर्वाधारमा पुगेको क्षतिको विस्तृत मूल्याङ्कन गरिरहेको छ।
क्षतिको वास्तविक अवस्था पहिचान गर्न स्थलगत अध्ययनसँगै उपग्रह तस्बिर तथा रिमोट सेन्सिङ प्रविधि प्रयोग भइरहेको एफएओले जनाएको छ।
बाढीले प्रभावित परिवारका घर र संरचना मात्र नभई उनीहरूको उत्पादन प्रणाली र जीविकोपार्जनको आधारसमेत कमजोर बनाएकाले राहतसँगै कृषि तथा पशुपालन पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ।
