कांग्रेसको महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
काठमाडौं । जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएकी छन्। पार्टीको विधान संशोधनमार्फत महिला उपसभापतिको व्यवस्था भएपछि भुसाल एकल उम्मेदवार बनेकी थिइन्।
अर्घाखाँचीको पोखराथोकमा २०१७ साल फागुन १ गते जन्मिएकी भुसालको राजनीतिक यात्रा विद्यार्थी संगठनबाट सुरु भएको हो। २०३६ सालको राजनीतिक परिवर्तनसँगै उनी नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीतिमा प्रवेश गरेकी थिइन्।
उनका पिता काशीनाथ गौतम २०१५ सालको बीपी कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री थिए। पञ्चायती व्यवस्था सुरु भएपछि गौतम लामो समय भारतमा निर्वासनमा रहनुपरेको थियो। राजनीतिक वातावरणमै हुर्किएकी भुसालले बाल्यकालदेखि नै राजनीतिका उतारचढाव नजिकबाट अनुभव गरेकी थिइन्।
पञ्चायतविरोधी आन्दोलनदेखि बहुदलीय प्रजातन्त्र पुनःस्थापनासम्मका विभिन्न राजनीतिक अभियानमा सक्रिय रहेकी भुसालले कांग्रेसको संगठनमा पनि लामो समय काम गरेकी छन्। उनी नेपाल महिला संघको दुई कार्यकाल महासचिव भएकी थिइन् भने कांग्रेसको केन्द्रीय कानुनी सल्लाहकार समिति र महिला विभागमा समेत जिम्मेवारी सम्हालेकी छन्।
कांग्रेसको १२औँ, १३औँ र १४औँ महाधिवेशनबाट लगातार केन्द्रीय सदस्य निर्वाचित भएकी भुसालले पार्टीभित्र आफ्नो राजनीतिक प्रभाव विस्तार गरेकी छन्।
राजनीतिसँगै कानुन र शिक्षण क्षेत्रमा पनि उनको लामो अनुभव छ। कानुनमा स्नातक तथा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उनले त्रिभुवन विश्वविद्यालयमा करिब १७ वर्ष प्राध्यापन गरेकी थिइन्। उनी वरिष्ठ अधिवक्तासमेत हुन्।
भुसालले संविधान निर्माण प्रक्रियामा समेत भूमिका निर्वाह गरेकी छन्। २०६३ सालमा गठित अन्तरिम संविधान मस्यौदा समितिमा कांग्रेसका तर्फबाट सहभागी भएर उनले अन्तरिम संविधान निर्माणमा योगदान दिएकी थिइन्।
संसदीय राजनीतिमा पनि उनको लामो अनुभव छ। २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट पराजित भए पनि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन्।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेकी भुसालले त्यस अवधिमा कांग्रेसको सचेतकको जिम्मेवारी सम्हालिन्। प्रतिनिधिसभाको कार्यकालको अन्तिम वर्ष उनी उपसभामुखसमेत बनिन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी अर्घाखाँचीबाट नेकपा एमालेका टोपबहादुर रायमाझीसँग पराजित भएकी थिइन्।
कांग्रेसको महिला उपसभापतिमा निर्विरोध चयन भएपछि भुसालको राजनीतिक यात्रामा अर्को महत्वपूर्ण जिम्मेवारी थपिएको छ। यससँगै उनी कांग्रेसमा निर्वाचन प्रक्रियाबाट महिला उपसभापति बन्ने पहिलो नेतृ बनेकी छन्।
