३१ हिमाल आरोहणका लागि ७८८ आरोहीलाई अनुमति, मनास्लुमा सबैभन्दा बढी आकर्षण
काठमाडौं — सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण गर्न ७० देशका ७८८ आरोहीले अनुमति प्राप्त गरेका छन्। पर्यटन विभागका अनुसार ३१ हिमालका लागि ९१ वटा आरोहण टोलीलाई अनुमति दिइएको हो।
विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिने आरोहीमध्ये ५८२ पुरुष र २०६ महिला छन्। आरोहण अनुमति शुल्क तथा रोयल्टीबापत विभागले हालसम्म २४ करोड ७२ लाख ७ हजार ६०१ रुपैयाँ राजस्व संकलन गरेको छ।
शरद् ऋतुमा आरोहीको सबैभन्दा बढी रोजाइमा मनास्लु परेको छ। ८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्। मनास्लुबाट मात्रै सरकारले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी प्राप्त गरेको विभागले जनाएको छ।
त्यस्तै, धौलागिरि–१ आरोहणका लागि पाँच टोलीका ३६ जनाले अनुमति लिएका छन्। उनीहरूबाट ८२ लाख ४२ हजार ५० रुपैयाँ राजस्व संकलन भएको छ। हिम्लुङ हिमालका लागि तीन टोलीका ३४ जनाले अनुमति लिएका छन् भने त्यसबाट २० लाख ८७ हजार ८०० रुपैयाँ रोयल्टी उठेको छ।
आमादब्लम आरोहणका लागि दुई टोलीका १९ जनाले अनुमति पाएका छन्। उनीहरूबाट २९ लाख १२ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ।
यसपटक पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायतका हिमालका लागि पनि आरोहण अनुमति जारी गरिएको छ।
देशगत रूपमा हेर्दा चीनबाट सबैभन्दा धेरै ११८ आरोहीले अनुमति लिएका छन्। त्यसपछि रसियाका ६५, फ्रान्सका ६०, अमेरिकाका ५२, बेलायतका ४५, पोल्याण्डका २५, जापानका २५, इटलीका २३, नेपालका २३, भारतका १८ तथा स्वीट्जरल्याण्ड र स्पेनका १६/१६ जना आरोही रहेका छन्।
पर्यटन विभागका अनुसार जारी भएका आरोहण अनुमतिबाट १६ लाख २७ हजार ६५९ अमेरिकी डलर बराबरको आम्दानी भएको छ। नेपाली रुपैयाँमा यो रकम २४ करोड ७२ लाख ७ हजार ६०१ रुपैयाँ हो।
