पर्यटन पूर्वाधारका लागि ११ अर्ब ९१ करोड बजेट विनियोजन
टुरिजमफेस ।
सरकारले आर्थिक वर्ष २०८१÷८२ का लागि पर्यटन प्रवद्र्धनलगायतका लागि पर्यटन, नागरिक उडड्यन तथा संस्कृति मन्त्रालयलाई ११ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले संसद्मा पेश गरेको १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेटमा पर्यटनका लागि त्यति रकम विनियोजन गरिएको हो । यद्यपि सरोकारवाला निकायले पर्यटन क्षेत्रको विकास लागि सरकारले विनियोजन गरेको बजेट पर्याप्त नहुने प्रतिक्रिया दिएका छन् । सरकारलाई भने गत वर्षदेखि नै स्रोतमा दवाव पर्दै आइरहेको छ । खासगरी लक्ष्य अनुसार राजस्व संकलन हुन नसक्दा विकास, निर्माणका कामले प्राथमिकता पाउन सकेका छैनन् ।
आउँदो आर्थिक वर्षका लागि पेश गरिएको बजेटमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१ दशमलव ३० प्रतिशत र पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब २५ करोड अर्थात १८ दशमलव ९४ प्रतिशत रहेको छ । सरकारले वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ अर्थात कुल बजेटको १९ दशमलव ७४ प्रतिशत विनियोजन गरेको छ ।
बजेटमा उल्लेख गरिएको रकमका लागि सरकारले राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँको लक्ष्य लिएको छ । त्यति गर्दा पनि अपुग हुने ५ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँको स्रोतका लागि आन्तरिक र बाह्य ऋणको सहायता लिइने अर्थमन्त्री पुनले जानकारी दिए ।
