धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द, अब के होला ?
टुरिजमफेस
काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । बोर्ड अध्यक्ष सिफारिस समितिले यस्तो निर्णय गरेको हो । सर्टलिस्टमा परेका ५ मध्ये २ जनामात्र अन्तर्वार्ता दिन उपस्थित भएपछि अध्यक्ष सिफारिस प्रक्रियाबारे समितिभित्र विवाद भएको थियो । बोर्ड अध्यक्षका लागि आवेदन दिएका ५ जना मध्ये ३ जना अन्तर्वार्ता तथा प्रस्तुतिका लागि उपस्थित नभएपछि समस्या देखिएको थियो । अध्यक्ष नियुक्त गर्न नसकेपछि समितिले महान्यायाधिवक्ताको कार्यालयसँग लिखित सुझाव मागेको थियो । गत बिहीबार अर्थ मन्त्रालयमार्फत महान्याधिवक्ताको कार्यालयलाई पत्र पठाइएकोमा उक्त पत्रको जवाफ कार्यालयले मन्त्रालयमा पठाएको थियो । ‘धितोपत्र ऐनले मन्त्रिपरिषद्मा ३ जनाको नाम सिफारिस गर्न महान्यायाधिवक्ताको कार्यालयले अर्थमन्त्रालयमा पठाएको पत्रमा भनिएको छ ।

अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्न ३ जना चाहिने कानुनी व्यवस्था छ । सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठले मात्रै अन्तर्वार्ता दिएका थिए । बाँकी ३ जना डा. नवराज अधिकारी, चिरन्जीवी चापागाई र कृष्ण कार्कीले अन्तर्वार्ता तथा प्रस्तुति दिएनन् । तीन जनाले अन्तर्वार्ता नदिएर अध्यक्ष नियुक्ति गर्न समस्या परेपछि समितिले अर्थ मन्त्रालयमार्फत कानुनी राय मागेको थियो । महान्यायाधिवक्ताको कार्यालयले दुई जनाको नाम पठाउने नमिल्ने कानुनी व्यवस्था स्मरण गराएको छ । कार्यालयले धेरै अंक ल्याएका एक जनाको नाम थप गर्न वा नयाँ प्रकृयामा जान सकिने भन्दै त्यसमाथि निर्णय गर्ने अधिकार नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिलाई नै दिएको छ । योसँगै अब बोर्ड अध्यक्ष नियुक्तिका लागि नयाँ प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ ।
