१७ वर्षपछि भारतलाई विश्वकपको उपाधि, रोहित र विराटद्वारा संन्यास

काठमाडौं ।
सन् २००७ मा विश्वकप जितेको भारतले त्यसयता पहिलोपटक आइसिसी टि–२० क्रिकेटको विश्वकप उपाधि जितेको छ । शनिबार राति वेष्ट इन्डिजमा भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टि–२० विश्वकपको उपाधि हात पारेको हो । यस श्रृंखलामा भारत अपराजित रहँदै आएको थियो । १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर १६९ रन बनाउन सक्यो । खेलको मध्यान्हसम्म दक्षिण अफ्रिकाका हेनरिच क्लासेनले नियन्त्रणमा राखेको खेललाई भारतका हार्दिक पाण्ड्याको बलमा रिशभ पन्तले क्याचआउट गरेपछि भारतले खेल आफ्नो पक्षमा पारेको हो ।

क्लासेन क्याचआउट भएको अर्को अर्थात १७ औं ओभरमा जसप्रित बुमराहले दक्षिण अफ्रिकाका मार्को जनसेनको विकेट लिएपछि दक्षिण अफ्रिका दबाबमा प¥यो । १९ औं ओभरको पहिलो बलमा डेविड मिलर आउट भएपछि खेल पूर्णत भारतको पक्षमा पुगेको थियो । पाण्ड्याले अन्तिम ओभरको पाचौं बलमा कगिशो रबाडालाई आउट गरेपछि भारतलाई झनै सहज भयो । फाइनल खेलमा दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले २७ बल खेल्दै २ चौका र पाँच छक्का हानेर ५२ रन बनाए । भारतका लागि ओपनर विराट कोहलीले ५९ बल खेलेर ६ चौका र २ छक्काको मद्दतले सर्वाधिक ७६ रन बनाए । प्रतियोगितामा भारतका जसप्रित बुमराह उत्कृष्ट खेलाडी घोषित भए । भारतलाई विश्वकपको उपाधि जिताएसँगै कप्तान रोहित शर्मा र विराट कोहलीले संन्यासको घोषणा गरेका छन् । शर्मा सन् २००७ र कोहलीले सन् २०१० मा भारतको राष्ट्रिय टोलीमा प्रवेश पाएका थिए ।