पढ्दै, सिक्दै कमाउने कार्यक्रमका लागि सिद्धार्थ हस्पिटालिटी र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सहकार्य

टुरिजमफेस
काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीबीच ब्याचलर इन् हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट (बिएचटिएम) अध्ययन गर्ने विद्यार्थीलाई बौद्ध दर्शनसमेतको सैद्धान्तिक र व्यवहारिक ज्ञानका साथ पढ्दै, कमाउँदै अवसर प्रदान गर्ने विषयमा सम्झौता भएको छ । सिद्धार्थ बिजनेस गु्रपका अध्यक्ष चिन्तामणि न्यौपानेले अध्ययन पुरा गरिसक्दा हस्पिटालिटी क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन होस् भन्ने चाहना अनुसार विद्यार्थीहरूले पढ्दै, कमाउँदै कार्यक्रमका लागि सम्झौता गरिएको बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शनका विविध आयाममा अध्ययन, अनुसन्धान र सहकार्य गर्ने उद्देश्यका लागि सिद्धार्थसँग सहकार्य सम्झौता गरिएको बताए । ‘यसप्रकारको सहकार्यबाट विश्वविद्यालयले अझ धेरै प्राज्ञिक विशिष्टता हाँसिल गर्दै सक्षम र सबल जनशक्ति उत्पादन हुने र समग्र व्यवसायिक क्षेत्रले लाभ प्राप्त गर्ने अपेक्षा राखिएको छ,’ उनले भने । विद्यार्थीले चार वर्षे कोर्समा पहिलो सेमेस्टरमा बौद्ध दर्शनसँगै होटल व्यवस्थापनबारे आधारभूत ज्ञान लिनेछन् । दोस्रो सेमेस्टरदेखि उनीहरूले पढ्दै पैसा कमाउन सक्ने गरी कोर्स डिजाइन गरिएको सिद्धार्थ बिजिनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए । यस कोर्समा विद्यार्थीहरूले पर्यटन व्यवस्थापन पनि पढ्न पाउनेछन् । ‘विद्यार्थीले पढाइका लागि गर्ने कुल खर्चमध्ये अधिकांश खर्च पढाइ पुरा गर्दा कमाउन सकुन् भन्ने हाम्रो उद्देश्य हो, सोही अनुसार कोर्स पनि डिजाइन गरिएको छ,’ न्यौपानेले भने । विश्वविद्यालयअन्तर्गत पर्यटन तथा आतिथ्य विषय समितिका अध्यक्ष डा. श्रीप्रसाद भट्टराईले विद्यार्थीको ज्ञान, सीप र व्यवहार तीन वटै पक्षको प्रभावकारी सिकाइ र मुल्याङ्कन हुने गरी कोर्स डिजाइन गरिएको बताए ।