नेपालमा पर्यटनमार्फत साना तथा मझौला उद्यमलाई प्रवर्द्धन गर्न अध्यक्ष ढकालको आग्रह

७ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पर्यटनमार्फत साना तथा मझौला उद्यमलाई प्रवर्द्धन गर्न आग्रह गरेका छन् ।
थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसियाली व्यापार प्रवर्द्धन फोरम (एटिपिएफ)को कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको बढ्दो पर्यटन बजारलाई लक्षित गरी होटेल, थिमपार्क, केबलकारलगायतका पर्यटन पूर्वाधारमा नेपालले लगानी खोजिरहेकाले यी क्षेत्रमा साझेदारीका लागि एसियाली लगानीकर्ताहरुलाई आग्रह गरेका हुन् । नेपालको पर्यन क्षेत्रमा लगानीका अवसर खोज्नको लागि एकपटक नेपाल भ्रमण गर्न पनि उनले सबैलाई आग्रह गरे ।
अध्यक्ष ढकालले भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने भएको र बंगलादेशमा पनि थप बजार सुनिश्चित रहेकाले जलविद्युतमा पनि लगानीको उपयुक्त अवसर रहेको धारणा राखेका थिए ।
साना तथा मझौला उद्योगमा लगानी बढाउँ, क्रियटिभ इकोनोमी विकासमा साझेदारी गरौ
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालजस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि पनि आह्वान गरेका छन् ।
उनले समावेशी समृद्धिका लागि एसियाली व्यापार अर्थतन्त्रमा एसएमईको सशक्तीकरणका मुद्दामा साझा आर्थिक दृष्टिकोणका लागि पनि आग्रह गरेका छन् ।
नेपालमा साना तथा मझौला उद्योगहरूले जिडिपीको लगभग २२ प्रतिशत योगदान गर्ने भएकाले सो क्षेत्रको विकास तथा प्रवर्द्धनमा अन्तरक्षेत्रीय साझेदारीको महत्त्व रहेको अध्यक्ष ढकालको भनाइ थियो ।
साना तथा मझौला उद्योगलाई क्रियटिभ इकोनोमीसँग जोडेर विकास तथा प्रवर्द्धनमा जोड दिन थालिएकाले लगानी तथा बजारका सम्भावनाहरू बढेकोतर्फ पनि ढकालले एसियाली लगानीकर्ताहरूको ध्यानाकर्षण गराएका थिए ।
नेपालको निर्यात व्यापारमा हातले बुनेका गलैँचा, थांका, चित्रकला र परम्परागत संगीतका वाद्ययन्त्रहरूको उल्लेख्य हिस्सा रहेकाले सांस्कृतिक उद्योगहरूमा लगानी गरेर समावेशी समृद्धिमा योगदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गरेका थिए ।