लन्डनको थेम्स नदीमा भेटिएको शव रुकुम–पश्चिमका सुशान ओलीको भएको पुष्टि, शवलाई घर ल्याउन आर्थिक संकलन गर्दै परिवार

टुरिजमफेस
काठमाडौं । लन्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव रुकुम पश्चिम, मुसिकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि भएको छ ।
लन्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप परीक्षण गर्दा उक्त शव ओलीको भएको पुष्टि भएको नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए । शव गत मंगलबार फेला परेको थियो । शव यकिनका लागि प्रहरीले औँठा छाप परीक्षण गरेको थियो । दुवाडीले राहदानी विभागबाट मगाएको औँठा छाप परीक्षण गर्दा शवसँग मिलेको लन्डन प्रहरीलाई उद्धृत गर्दै बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ओलीले आत्महत्या गरेको पाइएको छ । दुवाडीले रासससँग कुरा गर्दै प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले मृत्यु शंकास्पद नरहेको बताएको छ । शव व्यवस्थापनका लागि रकमको जोहो गर्नुपर्ने भएकाले ओलीका आफन्तजन चन्दा संकलनमा जुटेका छन् । उनीहरूले सहयोगका लागि याचनासमेत गरेका छन् । करिब एक वर्षअघि अध्ययनका लागि उनी बेलायत गएका थिए । आत्महत्या गर्नुपर्ने कारण अहिलेसम्म फेला परेको छैन ।
अप्रिल २१ देखि सम्पर्कविहीन भएपछि ओली अध्ययनरत क्याम्पसका विद्यार्थीले लन्डन प्रहरी र नेपाली दूतावासलाई जानकारी गराएका थिए । घटनाको थप अनुसन्धान लन्डन प्रहरीले गरिरहेको दुवाडीले बताए ।