पाकिस्तानी आक्रमणबाट भारतीय सेनाको मृत्यु

टुरिजमफेस
काठमाडौं । केही दिनदेखि जारी भारत–पाकिस्तान तनावपछि पछिल्लोपटक एक भारतीय सैनिकको ज्यान गएको छ । जम्मु कश्मीरको पुंछमा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा भारतीय सेनाका दिनेशकुमार शर्माको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।
हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले मृतक शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘अपरेसन सिन्दूरपछि जम्मुको पुंछमा भारत माताका वीर सपुत हरियाणाको पलवलका पुत्र, जवान दिनेशकुमार शर्माजीले पाकिस्तानबाट भएको गोलाबारीको साहसपूर्वक सामना गर्दै आफ्नो जीवनको सर्वोच्च बलिदान दिनुभयो,’ उनले लेखेका छन् ।
भारतीय सेनाले भने पाकिस्तानले फेरि युद्धविराम सम्झौताको उल्लंघन गरेको जनाएको छ । अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा आतंककारीले २६ जनाको हत्या गरेको बदलामा भारतले मंगलबार राति पाकिस्तानमा हवाई हमला गरेको थियो । जसमा २६ जनाको मृत्यु तथा ४६ जना सर्वसाधारण घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन् । त्यसको बदलामा पाकिस्तानले कश्मीर क्षेत्रमा गरेको गोलाबारीमा १५ जना मारिएको र ४३ जना घाइते भएका विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।