विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्त

टुरिजमफेस
काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट सांसद उम्मेदवार भइसकेका अर्थशास्त्री डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त भएका छन् ।
मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नयुक्त गरेको हो । सत्तारुढ दलबीच गभर्नर नियुक्तिको विषयलाई लिएर लामो समय रस्साकस्सी चलेको थियो । महाप्रसाद अधिकारीको पदाअवधि सकिएपछि नेपाली कांग्रेसको कोटामा परेको गभर्नर नियुक्तिका लागि सुरुमा राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई नियुक्ति गर्ने भनिएको थियो र सोही अनुसार भट्टले कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएका थिए । तर भट्टको राजीनामा निमित्त गभर्नर निलम ढुंगानाले स्वीकृति नगरेपछि पुनः कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेलको नाम सिफारिस गरेका थिए ।
पौडेलको नाममा पनि केही दिन निर्णय हुन नसकेपछि यो विषय थप पेचिलो बन्दा अनेक आशंका उब्जिएका थिए । पछि कांग्रेसको दवावमा अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली पौडेललाई गभर्नर नियुक्ति गर्न राजी भएपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले तीनजनाको नाम गभर्नरका लागि सिफारिस गरेको थियो । जसमा पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराई थिए । सिफारिस भएका तीन जनामध्ये पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो ।
पौडेलले अमेरिकाको क्यालिफोर्निया युर्निभर्सिटी बर्कलेबाट कृषि तथा स्रोत अर्थतन्त्रमा विद्यावारिधि गरेका छन् ।