राजस्व अनुसन्धान विभागद्वारा नेपाल क्यान मुभ विरुद्ध डेढ अर्ब कर छलीको मुद्दा दायर

टुरिजमफेस
काठमाडौं । राजस्व अनुसन्धान विभागले नेपाल क्यान मुभ प्राली विरुद्ध करिब डेढ अर्ब रुपैयाँ असुल गर्नुपर्ने मागदाबीसहित मुद्दा दायर गरेको छ ।
काठमाडौँको तीनकुनेमा कार्यालयल रहेको नेपाल क्यान मुभ प्रा. लि. (स्थायी लेखा नम्बर ६०९६४५३३८) को कारोबारस्थलमा छापा मारी प्राप्त गरिएका कागजात अनुसन्धान गर्दा कम्पनीले ६८ करोड रुपैयाँभन्दा बढी कर छलि गरेको र सोही बराबर जरिवाना सहित एक अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बिगो दाबी गरी पाटन उच्च अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
विभागको आकस्मिक निरीक्षणबाट प्रा.लि.ले आफ्नो व्यवसायिक कारोबारको लागि प्रयोगमा ल्याएको अनलाइन प्रणाली (portal.nepalcanmove.com (NCM)) नियन्त्रणमा लिई प्रा.लि.को आ.व. २०७६/०७७ देखि आ.व. २०८१/८२ को फाल्गुण महिनासम्मको कारोबार खुल्ने ट्रायल ब्यालेन्स लगायतका महत्वपूर्ण कागजात तथा प्रमाणहरु रीतपूर्वक बरामद गरी अनुसन्धान गर्दा प्रा.लि.ले उक्त पोर्टलको सर्भर अष्ट्रेलियामा राखी सेवा बिक्रीको ठूलो कारोबार आन्तरिक राजस्व विभागमा पेश गरेको मू.अ.कर / आय विवरणमा नदेखाई बिक्री आय लुकाई छिपाई ठूलो परिमाणमा मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको सम्बन्धमा अनुसन्धानको कार्य सम्पन्न गरी नेपाल क्यान मुभ प्रा.लि., नेपाल क्यान ग्रुप प्रा.लि. (नेपाल क्यान मुभ प्रा.लि.को एकल शेयरधनी/लगानीकर्ता), प्रा.लि.का शेयरधनी/सञ्चालकहरु श्री सुदिप आचार्य, श्री जीवन ज्ञवाली, श्री गंगा बहादुर थापा, श्री मनिष प्रसाद आचार्य, श्रीमती मिठु पौडेल र प्रा. लि. का उप-कार्यकारी निर्देशक संगम पौडेल विरुद्ध राजस्व चुहावटको कसूरमा मुद्दा दायर गरिएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रस्तुत मुद्दामा कार्गो तथा कुरीयर व्यवसाय गर्ने प्रतिवादीहरुले व्यावसायिक कारोबार गर्न NCM Portal (portal.nepalcanmove.com) आ.व. २०७६/७७ देखि नै सञ्चालनमा ल्याएकोमा नेपालको कर प्रशासनको निगरानीलाई छल्न उक्त पोर्टलको सर्भर अष्ट्रेलियामा राखी नेपालमा सेवा बिक्री लुकाउने छिपाउने कार्य गरेको, अनुसन्धानको क्रममा प्रा.लि.को अधिकांश शेयर स्वामित्व भएका प्रतिवादीहरु सुदिप आचार्य (५५.३३ प्रतिशत) र जीवन ज्ञवाली (१६ प्रतिशत) यस विभागले पटक पटक ताकेता गर्दा समेत उपस्थित नभई फरार रहेको, प्रा. लि. ले NCM Portal को सेवा बिक्रीलाई तोडमोड गरी म्यानुअल तवरले बिलिङ्ग गरी वास्तविक बिक्री कारोबार लुकाएको समेत आधारमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ को खण्ड (छ१) को उपखण्ड (ख) बमोजिम मूल्य अभिवृद्धि करतर्फ मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २० (१) बमोजिम थप बिक्री कायम भएको करयोग्य रकम रु.७८,२८,४६,७६७१ को १३ प्रतिशतले हुने मू.अ. कर, दफा २९ (२) बमोजिम शतप्रतिशतले हुने जरिवाना, दफा १९(२) बमोजिम १० प्रतिशतले हुने थप दस्तुर र दफा २६ बमोजिम १५ प्रतिशतले हुने ब्याज समेत गरी रु.२६,०७,५०,५१५.४३ र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ को खण्ड (छ१) को उपखण्ड (क) बमोजिम आयकरतर्फ थप कायम गर्नुपर्ने सेवा बिक्री रकम रु.७८,२८,४६,७६७। आयकर ऐन, २०५८ को दफा ७ (२) (ख) बमोजिम तत्तत् आर्थिक वर्षको आयमा समावेश गरी सोही ऐनको दफा ३ र दफा ४ मा भएको व्यवस्था अनुसार अनुसूची १ को दफा २(१) बमोजिमको आयकर, दफा १२०(ख) बमोजिम शतप्रतिशतले हुने जरिवाना, दफा ११८ बमोजिम १५ प्रतिशतले हुने किस्ताबन्दी ब्याज र दफा ११९ बमोजिम १५ प्रतिशतले हुने ब्याज (मिति २०८२ जेठ सम्मको) समेत गरी कुल रु.४२,३६,५५,२४५.०५ गरी कुल जम्मा रु.६८,४४,०५,७६०।०० (अक्षरेपि अड्सठ्ठी करोड चवालीस लाख पाँच हजार सात सय साठी रुपैयाँ मात्र) बिगो कायम गरिएको विभागले जनाएको छ ।
अतः प्रतिवादीहरू सुदिप आचार्य, जीवन ज्ञवाली, गंगा बहादुर थापा, मनिष प्रसाद आचार्य, श्रीमती मिठु पौडेल र प्रा.लि.का उप-कार्यकारी निर्देशक संगम पौडेल समेतले एक आपसमा मिलोमतो गरी उक्त प्रा. लि. को सर्भर अष्ट्रेलियाबाट सञ्चालन गरी नेपालको कर प्रशासनको पहुँच भन्दा बाहिर राखी मूल्य अभिवृद्धि कर र आयकर समेत छली गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य तथा सोही ऐनको दफा ४ को खण्ड (क), (च) र (झ) बमोजिमको कसूर गरेको देखिएकाले प्रतिवादी शेयरधनी/सञ्चालकहरू सुदिप आचार्य, जीवन ज्ञवाली, गंगाबहादुर थापा, मनिष प्रसाद आचार्य र मिठु पौडेलसमेत लाई विस्तृत अनुसन्धान तथा तहकिकात प्रतिवेदनको बिगो गणना तालिका अनुसार ऐ. ऐनको दफा २ (छ१) को (क) र (ख) बमोजिम प्रस्तुत कम्पनीले आ.व. २०७६/७७ देखि आ.व. २०८१/८२ को फाल्गुन मसान्त सम्ममा सेवा बिक्री लुकाई गरेको कारोबारबाट कायम हुन आएको बिगो रु.६८,४४,०५,७६०।०० (अक्षरेपि अठसठ्ठी करोड चवालीस लाख पाँच हजार सात सय साठी रुपैयाँ मात्र) कायम गरी ऐ. ऐनको दफा २३(१) बमोजिम बिगो रकम असुल गर्ने तथा बिगोको शतप्रतिशत जरिवाना रु. ६८,४४,०५,७६०।०० (अक्षरेपि अठसठ्ठी करोड चवालीस लाख पाँच हजार सात सय साठी रुपैयाँ मात्र) समेत गरी कुल रकम रु. १,३६,८८,११,५२०।- (अक्षरेपी एक अर्ब छत्तीस करोड अठासी लाख एघार हजार पाँच सय बीस मात्र) र सोही ऐनको दफा २३(४) अनुसार ब्याज समेत लगाई ऐ. ऐनको दफा २३ को उपदफा (१) (घ) बमोजिम कैद सजायको मागदाबी लिई तथा प्रतिवादीहरु मध्ये कम्पनीका उप-कार्यकारी निर्देशक संगम पौडेलको हकमा निजले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (५) बमोजिम प्रा. लि. को मुख्य भई कार्य गर्ने जिम्मेवारी निर्वाह गर्ने सञ्चालकहरू र प्रमुख कार्यकारी निर्देशकलाई साथ र सहयोग गरी राजस्व चुहावटको कार्य गरेको हुँदा ऐ. ऐनको दफा २३(३) बमोजिम मतियारको रुपमा मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुन तथा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम प्रतिवादीहरुबाट क्षतिपूर्ति शुल्क भराई पाउन समेत मागदावी लिई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची- २० बमोजिमको ढाँचामा अभियोग पत्र तयार गरी सम्मानित उच्च अदालत पाटनमा मिति २०८२/०३/०१ गते अभियोग पत्र दायर गरिएको विभागको विज्ञप्तिमा उल्लेख छ ।