मध्यरात बाढीमा फसेका ३८ यात्रु यसरी भए सुरक्षित

बाढीले बगाएको बस
टुरिजमफेस
पूर्वी नवलपरासी । भीषण वर्षा । त्यसमा पनि मध्यरातको यात्रा । अधिकांश यात्रु मस्त निद्रामा । त्यहीबेला काठमाडौँबाट नेपालगन्ज जाँदै गरेका बसमा आएको समस्याबाट ३८ जना यात्रु ठूलो संकटबाट बाँचेका छन् ।
बस चालकले मध्यराति बसलाई उर्लेको खोलामा हाल्दा यात्रु बाँचेको खबरले सबैलाई अचम्ममा पारेको छ । पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा बाढी आएको बेला बिहीबार राति साढे ११ बने ३८ जना यात्रु सवार भे १ ख ४०८५ नम्बरको बसलाई बाढीले बगाए पनि सबै यात्रु सशकुल छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले बसलाई बाढीले बगाए पनि त्यसमा सवार सबै यात्रुको सकुशल रहेको बताए । यद्यपि बाढीले बगाएको बस घटनास्थलबाट एक किलोमिटर तल फेला परेको छ । डिएसपी नेपालले कुनै पनि यात्रुलाई चोटपटक समेत नलागेको बताए । बस खोलामा बग्नेबित्तिकै सुरक्षाकर्मीले उद्धार गर्न सकेका कारण अप्रिय घटना हुन नपाएको उनले बताए ।
यात्रुको उद्धार गरिएपछि बसलाई बाढीले बगाउँदै लगेको प्रत्यक्षदर्शीको भनाइ छ । विनयी खोलाको पुल भाँचिएपछि डाइभर्सन बनाएर गाडी चालाउने गरिएको छ, सोही क्रममा बस बाढीमा परेको थियो ।
बसका चालक नरेन्द्र बोगटी र टीकाराम पाण्डे हुन् । लामो रुटका बसलाई दुई जना चालकले चलाउने गर्छन् । केही दिनअघि सुरु भएको वर्षा यतिखेर देशका विभिन्न भागमा केन्द्रित छ । वर्षा हुने क्रम जारी रहेकाले सुरक्षित रूपमा यात्रा गर्न अधिकारीहरूले आग्रह गरेका छन् । यात्रा गर्दा वास्तविक अवस्था बुझेर तथा सुरक्षा सावधानी अपनाउन आवश्यक हुन्छ ।
बाढीले बगाएको बस