म्यानमारकी अस्मिता भन्छिन्– प्राकृतिक र सांस्कृतिक रूपमा धनी नेपाल आउन पाउनु खुशी मात्र होइन, भाग्य हो

टरिजमफेस
काठमाडौं । ‘मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो । म यहाँ आउन पाउँदा आफूलाई निकै भाग्यमानी ठानेकी छु’, म्यानमारबाट पहिलोपटक नेपाल आएकी अस्मिता न्यौपानेले भनिन् ।
नेपालबाट म्यानमार गएको उनीभन्दा अघिको सातौँ पुस्ता हो । त्यसपछि उनका आफन्त कोही पनि नेपाल आउन पाएनन् । न्यौपाने भने आफू नेपाल आउन पाउँदा दङ्ग थिइन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष उनले नेपाल आउनुको खुसी मात्रै पोखिनन्, नेपाली गीत पनि गाइन् । उनी नेपाल आउने अवसर भने नेपाल टेलिभिजनबाट प्रसारण हुने मेरो भ्वाइस युनिभर्स कार्यक्रमले जुराइदिएको थियो ।
उक्त कार्यक्रमकी प्रतियोगी न्यौपाने जस्ता विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली भाषीहरूले सञ्चारमन्त्री गुरुङसमक्ष भावना साटासाट गरे । उनीहरुले सामूहिक रुपमा राष्ट्रिय भाव झल्काउने ‘भाषावेशको जहाँ जाऊ लागिरहन्छ माया देशको’ बोलको गीतसमेत गाए ।
मन्त्री गुरुङले नेपालमा सुगौली सन्धि, विश्व युद्धको प्रभाव र अहिले विश्वव्यापीकरण गरी तीन तरिकाले नेपालीहरु विभिन्न देशमा छरिएको उल्लेख गरे। विभिन्न कारणले नेपालीहरु जहाँ बसे पनि यहाँको संस्कार, संस्कृति र भाषाशैलीमार्फत नेपाललाई विश्वमा चिनाउने काम गरिरहेको उनले बताए ।
मन्त्री गुरुङले खास गरी कलासंस्कृतिले मुलुकको पहिचान विश्वव्यापीकरण गराउन मद्दत गर्ने हुँदा मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सजस्ता कार्यक्रमले ठूलो सहयोग गरेको बताए ।
‘हामी जहाँ भए पनि नेपाली कलासंस्कृति भुल्नु हुँदैन, नेपाल टेलिभिजनले यस्ता खाले कार्यक्रममलाई महत्व दिन्छ र आगामी दिनमा पनि दिनेछ,’ उनले भने ।
मन्त्री गुरुङले केही कारणवश फरक मुलुकमा बसोबास भए पनि नेपाली संस्कृति, संस्कार र भाषाले सबै नेपालीलाई एकतामा बाँधेको उल्लेख गरे।
इन्ट्रा फाउन्डेसनद्वारा आयोजित मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स कार्यक्रम तीन वर्षदेखि निरन्तर नेपाल टेलिभिजनमार्फत प्रसारण हुँदै आएको छ ।
फाउन्डेसनका कार्यकारी निर्देशक सिएम भट्टराईका अनुसार विभिन्न देशमा छरिएर रहेका नेपाली तथा विदेशी नागरिकलाई उनीहरुको गायन र नृत्यकलामार्फत एकसूत्र गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।
कार्यक्रममा विभिन्न ६० मुलुकबाट सहभागिता भएको थियो । हाल प्रतियोगितामा १६ देशका प्रतिभा छानिएका छन् । ‘नेपाली जहाँ गए पनि मन र संस्कृति नेपालमै छ, हामीले कलासंस्कृतिमार्फत राष्ट्रिय एकता बलियो बनाउने प्रयत्न गरेका छौँ’, कार्यकारी निर्देशक भट्टराईले भने ।
नेपाल टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार मेरो भ्वाइस युनिभर्स प्रसारण हुन्छ भने आइतबार र सोमबार मेरो डान्स युनिभर्स प्रसारण हुँदै आएको छ ।
कार्यक्रममा प्रथम हुनेलाई पुरस्कार स्वरुप एक करोड, दोस्रोलाई ३० लाख, तेस्रो हुनेलाई १० लाख र उत्कृष्ट १० मा पर्ने सबैलाई जनही तीन लाख पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ ।