पहिलो ‘परियार सङ्ग्रहालय’ चितवनमा

टुरिजमफेस
भरतपुर । देशमै पहिलोपटक ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने भएको छ । परियार एकता समाज चितवनको अगुवाइमा भरतपुर महानगरपालिका–२२ पटिहानीमा सङ्ग्रहालय बनाउन लागिएको हो ।
परियार समुदायको ज्ञान, सीप र क्षमता संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा गर्न सङ्ग्रहालय निर्माण गर्न लागिएको परियार एकता समाज चितवनका अध्यक्ष सुरज परियारले जानकारी दिए । उनका अनुसार करिब दुई करोडको लागतमा सङ्ग्रहालय बनाउन लागिएको हो ।
अहिले भरतपुर महानगरपालिकाको सहयोगमा भवनको डिपीसीसम्मको काम सम्पन्न भएको छ । सभा हलसहित चार तलासम्मको भवन निर्माण गर्न लागिएको छ । ‘नयाँ पुस्तालाई आफ्नो परम्परागत पेसाबारे ज्ञान छैन,’ उनले भने, ‘हाम्रो संस्कृतिको विषयमा अध्ययन गर्न मिल्ने गरी सङ्ग्रहालय बनाउन लागेका हौँ ।’
परियार समुदायको दर्जी, सूचीकार, नगर्ची, ढोली, हुडकेलगायतका थर हुन्छन् । यो समुदायको मुख्य पेसा विवाह, जात्रा र पूजा जस्ता अवसरमा पञ्चेबाजा बजाएर कार्यक्रम आरम्भ गर्ने, सिलाइ र पोसाक बनाउने हो । आजभोलि परियार समुदायले अपनाउँदै आएको पेसा अन्य समुदायले अवलम्ब गर्न थालेको समाजका अगुवा शेरबहादुर परियारले बताए ।
‘हामीले बाजा बजाउन, सिलाउन अन्य समुदायलाई सिकायौँ । तर हाम्रा छोराछोरी नातिनातिनाले सिकेनन्,’ उनले भने, ‘अब संरक्षण गरिएन भने केही वर्षमा हाम्रो पेसाको इतिहाससमेत मेटिन सक्छ ।’ उनले संस्कृति लोप हुन लागेकाले संरक्षणका लागि सङ्ग्रहालय बनाउन लागिएको बताए ।
सङ्ग्रहालय निर्माणका लागि भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराएको छ । यहाँबाट पञ्चेबाजा बजाउन सिकाउने र पुराना बाजाहरुको संरक्षणसमेत गरिने छ । परियार समुदायको पोसाकको संरक्षणसँगै विगतमा सिलाइकटाइ गर्दा प्रयोग गरिने सामग्रीको संरक्षणसमेत गरिने उनले जानकारी दिए ।
विगतमा जन्मदेखि मृत्युसम्म परियार समुदायले सिलाएको कपडा लगाउनेदेखि शुभ साइतका लागि बाजा बजाउने प्रचलन थियो । सङ्ग्रहालयले परियार समुदायको जातीय पहिचानसहित ज्ञान र सीपको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमासमेत टेवा पुर्यउने विश्वास लिइएको छ ।
तीन वर्षमा निर्माण गरिसक्ने लक्ष्य राखेर थालिएको सङ्ग्रहालय निर्माणका लागि दुई करोडमध्ये हालसम्म भरतपुर महानगरपालिकाले १० लाख उपलब्ध गराएको छ भने बाँकी रकम जुटाउने क्रममा रहेको कोषाध्यक्ष डिल्लीबहादुर परियारले बताए ।
‘भरतपुर महानगरपालिका, प्रदेश सरकार तथा विभिन्न सङ्घसंस्था र व्यक्तिहरूको सहयोग जुटाएर भवन निर्माण गर्न लागेका हौँ,’ डिल्लीबहादुरले भने, ‘सबैको सहयोग भएमा परियार समाजको संस्कृतिलाई अध्ययन केन्द्रको रूपमा विकास गर्दैछौँ ।’ नेपालमा परियार समुदायको जनसङ्ख्या छ लाखको हाराहारीमा छ ।