२०२५ मा ३६ देशका ११६ विदेशीलाई नेपाल छिर्न दिइएन, हजारौँ नेपाली स्वदेश फर्काइए
काठमाडौं । सन् २०२५ मा नेपालको अध्यागमन व्यवस्थापन थप कडा बन्दै जाँदा विभिन्न ३६ मुलुकका ११६ विदेशी नागरिकलाई नेपाल प्रवेशमै रोक लगाइएको छ । अध्यागमन विभागका अनुसार सुरक्षा जोखिम, भिसा समस्या तथा विगतका शंकास्पद गतिविधिका आधारमा ती विदेशीलाई विमानस्थलबाटै सम्बन्धित मुलुक फर्काइएको हो ।
अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार प्रवेश अस्वीकार गरिएका विदेशीमध्ये भारत र चीनका नागरिकको संख्या तुलनात्मक रूपमा बढी छ । भिसाको म्याद सकिनु, विगतमा अध्यागमन नियम उल्लंघन गर्नु, आपराधिक अभिलेख हुनु वा सुरक्षा चुनौती देखिनुजस्ता कारणले उनीहरूलाई नेपाल प्रवेश गर्न नदिइएको हो ।
विदेशबाट २,७९० नेपाली डिपोर्ट
अध्यागमन तथ्यांकअनुसार सन् २०२५ मा विश्वका ७७ मुलुकबाट २ हजार ७ सय ९० जना नेपाली नागरिक डिपोर्ट भई स्वदेश फर्किएका छन् । सबैभन्दा धेरै मलेसियाबाट ४९८ जना, अमेरिकाबाट ४६२, संयुक्त अरब इमिरेट्सबाट ३२३, दक्षिण कोरियाबाट २५७ र जापानबाट १२८ जना नेपाल फर्किएका हुन् ।
सम्बन्धित मुलुकको अध्यागमन कानुन उल्लंघन, भिसा नलिई बसोबास, ओभरस्टे, अपराधमा संलग्न भई सजाय भुक्तान गर्नुजस्ता कारणले उनीहरूलाई डिपोर्ट गरिएको विभागले जनाएको छ ।
नेपालबाट पनि ५०१ विदेशी निष्कासन
यसै अवधिमा नेपालबाट ५०१ जना विदेशी नागरिक डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । तीमध्ये ४३७ जना पर्यटक भिसामा १५० दिनभन्दा बढी बसेको पाइएको छ भने बाँकी ६४ जना विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको पुष्टि भएको छ ।
विभागका अनुसार भिसाको उद्देश्यविपरीत बसोबास, लागुऔषध कारोबार, मानव बेचबिखन, संगठित अपराध, अवैध विदेशी मुद्रा कारोबार तथा अभद्र व्यवहारजस्ता कसुरमा संलग्न भई सजाय पूरा गरेपछि ती विदेशीलाई देश निकाला गरिएको हो ।
अध्यागमन विभागले राष्ट्रिय सुरक्षा र कानुनी व्यवस्थालाई मजबुत बनाउन निगरानी र कारबाहीलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने जनाएको छ ।
