त्रिभुवन विमानस्थलमा यात्रु चाप उछालिँदो, पाँच वर्षमै करिब साढे तीन गुणा वृद्धि
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) बाट अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुको संख्या तीव्र रूपमा बढ्दै गएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को तथ्यांकअनुसार सन् २०२५ मा मात्रै टिआइए प्रयोग गरी करिब ५० लाख अन्तर्राष्ट्रिय यात्रुले आवतजावत गरेका छन्, जुन पाँच वर्षअघिको तुलनामा ३४९ प्रतिशतले बढी हो।
क्यानका अनुसार सन् २०२५ मा टिआइएबाट कुल ४९ लाख ६३ हजार ४६६ जना यात्रु (आगमन र प्रस्थान दुवै) ले अन्तर्राष्ट्रिय उडान प्रयोग गरेका छन्। कोभिड–१९ को प्रभाव देखिएको सन् २०२० मा यो संख्या ११ लाख ५ हजार ८५८ मात्र थियो। पछिल्ला वर्षहरूमा उडान पुनःसञ्चालन, गन्तव्य विस्तार र यात्रु माग बढेसँगै यात्रु संख्या निरन्तर उकासिएको क्यानको विश्लेषण छ।
वार्षिक तथ्यांकले पनि क्रमिक सुधार देखाउँछ। सन् २०२२ मा २२ लाख २३ हजार ३३३ यात्रुले टिआइए प्रयोग गरेका थिए भने सन् २०२३ मा यो संख्या झन्डै दोब्बर भएर ४३ लाख २९ हजार ४ सय पुगेको थियो। सन् २०२५ मा आइपुग्दा यात्रु संख्या थप उचाइमा पुगेको हो।
आन्तरिक उडानमा पनि उल्लेख्य वृद्धि
अन्तर्राष्ट्रिय मात्र होइन, आन्तरिक उडानतर्फ पनि यात्रु चाप बढेको छ। एक वर्षमा टिआइए हुँदै ४५ लाख १९ हजार ३२२ आन्तरिक यात्रुले यात्रा गरेका छन्। यो सन् २०२० को तुलनामा २२१.४८ प्रतिशतले बढी हो। सन् २०२० मा आन्तरिक यात्रु संख्या १४ लाख ५ हजार ७७७ थियो।
आन्तरिक यात्रुका हिसाबले सन् २०२२ उच्च वर्ष बनेको क्यानले जनाएको छ। उक्त वर्ष ४९ लाख १३ हजार ३५७ जनाले टिआइएबाट आन्तरिक उडान गरेका थिए। सन् २०२१ मा ३५ लाख ७६ हजार ९४२ र सन् २०२३ मा ४३ लाख २५ हजार ५६ यात्रुले आन्तरिक उडान प्रयोग गरेका थिए।
अन्य विमानस्थलको अवस्था
क्यानको तथ्यांकअनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ र २०२४ मा सीमित संख्यामा अन्तर्राष्ट्रिय यात्रु आवतजावत गरेका छन्। सन् २०२३ मा २ हजार ३ सय १५ र सन् २०२४ मा ९ हजार २०२ यात्रुले उक्त विमानस्थल प्रयोग गरेका छन्। आन्तरिकतर्फ भने सन् २०२४ मा ६ लाख १० हजार ४३७ यात्रुले भैरहवा विमानस्थलबाट यात्रा गरेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा १० लाख १६ हजार आन्तरिक यात्रुले उडान गरेका छन्। त्यसैगरी नेपालगञ्जबाट ४ लाख ९९ हजार, विराटनगरबाट ६ लाख ५९ हजार, चन्द्रगढीबाट ३ लाख ७२ हजार यात्रुले यात्रा गरेका छन्।
लुक्ला (२ लाख ४ हजार), भद्रपुर (२ लाख ३४ हजार), जनकपुर (२ लाख ९५ हजार), सिमरा (२ लाख ७३ हजार) र धनगढी (२ लाख ८५ हजार) लगायतका विमानस्थलहरूमा पनि उल्लेख्य आन्तरिक यात्रु चाप देखिएको छ। दुर्गम क्षेत्रका जोमसोम, जुम्ला, सिमकोट, डोल्पा, रारा लगायतका विमानस्थलबाट समेत हजारौं यात्रुले हवाई सेवा लिएका छन्।
समग्रमा, क्यानको तथ्यांकले नेपालमा हवाई यात्राप्रति यात्रुको भरोसा र माग दुवै बढ्दै गएको संकेत गर्छ। तर बढ्दो यात्रु चापसँगै पूर्वाधार विस्तार, सेवा गुणस्तर सुधार र व्यवस्थापन सुदृढीकरण अपरिहार्य रहेको सरोकारवालाहरू बताउँछन्।
