पञ्चप्रधानले ५ गाउँलाई शासन गरेको ‘पञ्चायत घर’को जीर्णोद्धार, सङ्ग्रहालय बनाइने
बागलुङ । तमानखोला गाउँपालिकाले तमान गाउँमा रहेको पञ्चायत घरको जीर्णोद्धार गरी सङ्ग्रहालय बनाउने भएको छ ।
स्थानीय स्रोत साधनको प्रयोग गर्दै १० लाख रुपैयाँ खर्चेर जीर्णोद्धार गरिएको पञ्चायतकालिन घरलाई सङ्ग्रहालय र पुस्तकालयका रूपमा विकास गरिने भएको हो ।
तमानखोला गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ मा विनियोजन गरेको १० लाख रुपैयाँ र स्थानीयको श्रमदानबाट जीर्णोद्धार भएको यो घरलाई तमानखोला गाउँपालिका वडा नम्बर–३ ले कार्यालयका रूपमा सञ्चालन गरिरहेको छ ।
वडा कार्यालयको भवन निर्माणाधीन रहेकाले त्यो पूरा हुनेवित्तिकै नयाँ घरमा कार्यालय सारिने र पञ्चायतघरलाई सङ्ग्रहालय तथा पुस्तकालयमा परिणत गरिने वडाध्यक्ष झकबहादुर बुढामगरले बताए ।
पञ्चायतकालमा उक्त घरमा गाउँ पञ्चायतका प्रमुख, उपप्रमुखलगायत पदाधिकारीको कार्यालय थियो । तत्कालीन तमान गाउँ पञ्चायत कार्यालयबाट लुकुरबन, खुङ्गा, नर्जा, खुङ्खानी, तमान, लाम्मेलाका स्थानीयलाई सेवा प्रवाह गरिन्थ्यो । रासस