पोखरामा जग्गा अभावकै कारण विशिष्टीकृत अस्पताल निर्माणमा बिलम्ब
गण्डकी । प्रदेश गौरवको आयोजनामा समेटिएको क्यान्सर, मुटु, मिर्गौला र बाल रोग सम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणका लागि गण्डकी प्रदेश सरकारले सङ्घीय सरकारसँग जग्गा माग गरेको छ ।
प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेर कास्कीको पोखरा महानगरपालिका–१६ स्थित जौवारी सिँचाइ विभागको दुई सय रोपनी जग्गा प्रदेश सरकारलाई उपलब्ध गराइदिन माग गरिएको जानकारी दिए ।
प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा उक्त विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेपनि जग्गा व्यवस्थापनको जटिलतालगायत कारणले कार्यान्वयन हुन सकेको छैन । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा पनि उक्त योजना समेटिँदै आएको स्वास्थ्यमन्त्री पाठकले बता ए । “प्रधानमन्त्रीसमक्ष जग्गा व्यवस्थापनलगायत विभिन्न १२ मागहरु मन्त्रालयकातर्फबाट पेस गरिएको छ, प्रधानमन्त्रीले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ”, उनले भने ।
मन्त्री पाठकले जग्गा अभावकै कारण विशिष्टीकृत अस्पताल निर्माणमा बिलम्ब भइरहेको बताए । उनले प्रदेशमा एकीकृत सेवासहितको मातृशिशु, महिला तथा बाल अस्पताल स्थापनाका लागि पनि पहल भइरहेको जानकारी दिए ।
जटिल रोगको उपचार सेवाका लागि सर्वसाधारण काठमाडौँ जानुपर्ने बाध्यता अन्त्यका लागि पोखरामा सुविधासम्पन्न विशिष्टीकृत अस्पतालको जरुरी रहेको उनको भनाइ छ । मन्त्री पाठकले अन्तरङ्ग सेवासहित २५ शय्याको गण्डकी आयुर्वेद अस्पताल र धवलागिरि आयुर्वेद अस्पतालको स्तरवृद्धिका लागि आवश्यक बजेटको प्रबन्ध गरिदिन सङ्घ सरकारसँग माग गरिएको बताए । रासस