कार्यप्रगति देखिनेगरी विद्युत् र सिँचाइका ठूला आयोजनालाई अगाडि बढाउनुपर्नेमा जोड

टुरिजमफेस
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कार्यप्रगति देखिनेगरी ठूला विद्युत् र सिँचाइका ठूला आयोजनालाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
ऊर्जा मन्त्रालयमा आज सम्पन्न वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले बलियो सरकार भएका बेलामा कार्यप्रगति देखिनेगरी ठूला आयोजनालाई अगाडि बढाउनुपर्ने बताएका हुन् ।
“विगतको सिकाइलाई आधार मानेर जिम्मेवारीका साथ काम गर्यौ भने प्रगति हासिल गर्न सकिन्छ, यसको बाटोमा सबै लाग्नुपर्छ,” मन्त्री खड्काले भने । उनले मुलुकको अर्थतन्त्रको प्रमुख आधार ऊर्जा यस मन्त्रालयसँग जोडिएकाले अन्तरनिकायसँगको समन्वयमा यस क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए ।
ऊर्जामन्त्री खड्काले बैँकमा थुप्रिएर बसेको पुँजीलाई ऊर्जा विकासको क्षेत्रमा लगाउनसके देश चाँडो विकास हुने विश्वास व्यक्त गरे । “एकातिर बैँकमा पैसा थुप्रिएर बसेको छ, अर्कोतर्फ विदेशीहरू लगानी गर्न आतुर छन्, तर हामीले किन यसलाई अगाडि बढाउन सकेनौँ,” उनले भने ।
मन्त्री खड्काले हिँउदमा हुने विद्युत् अभावलाई परिपूर्ति गर्नका लागि सरकारले जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकता दिएर अगाडि बढाउन खोजेको उल्लेख गरे ।
राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले विगतमा भएका कमी कमजोरीलाई औँल्याउँदै आगामी दिनमा ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा लाग्नुपर्ने बताए । उनले ऊर्जा र सिँचाइ क्षेत्रको विकासका लागि १६ औँ पञ्चवर्षीय योजनासँग सम्बन्धी वार्षिक नीति र कार्यक्रम बनाउनुपर्ने उल्लेख गरे ।
जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडीले आयोजनालाई अगाडि बढाउन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट राम्रो सहयोग पाए पनि वन र जग्गा प्राप्तीको समस्याले आयोजना निर्माणमा ढिलाइ भएको बताए ।