सबस्टेसन निर्माणपछि अब हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदैछ धादिङ
टुरिजमफेस
काठमाडौं । भनिन्छ नि एउटा उद्योगले कम्तीमा १० वटा विकासको बाटो खोल्छ । बेरोजगारलाई रोजगारी, राज्यलाई कर तथा स्थानीयलाई अनेकन लाभ ।
एउटा उद्योग स्थापनापछि राज्यले करमात्रै होइन, ठूलो धनराशि लगानी गर्नुपर्ने विद्युतीय सबस्टेसनको लाभसमेत पाएको छ । त्यो हो धादिङको मलेखुमा निर्माण भएको १३२ केभी क्षमताको सबस्टेसन ।
प्रक्रिया निकै लामो हुने हुँदा उद्योगले सरकारी प्रावधानअनुसार पछि सोधभर्ना गर्नेगरी आफ्नै लगानीमा मलेखु नजिकै सिद्धलेख गाउँपालिका वडा नम्बर ६ मा हुवासिन नारायणी सिमेन्ट उद्योगले १३२ केभीको सबस्टेसन निर्माण गरेको थियो ।
विद्युत् प्रसारण लाइनका अनगिन्ती टावर र तारले जेलिए पनि धादिङ जिल्ला विद्युत्को भरपर्दो सुविधाबाट लामो समयदेखि वञ्चित थियो । जिल्लाभर विद्युत् नपुगेको, पुगे पनि सामान्य हुरीबतासमा बत्ती जाने समस्या थियो । हाइ भोल्टेजले विभिन्न विद्युतीय उपकरण जल्ने पड्किनेजस्ता समस्याबाट पीडित थिए । स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरण तथा जिल्लामा क्रियाशील राजनीतिक नेतृत्वलाई पटकपटक गुनासो पोख्दै आएका थिए ।
ठूला उद्योगलाई विद्युत् उपलब्ध गराउनुपर्ने राज्यको दायित्व हो । लगानी बोर्डको संयोजनमा धादिङमा स्थापना भएको चिनियाँ लगानीको सिमेन्ट उद्योग हुवासिन सिमेन्टले पनि सरकारले सडक तथा विद्युत् उपलब्ध गराउने शर्तमा लगानी गर्ने निर्णय गरेको थियो । उद्योग आफैँले निर्माण गरेको सबस्टेसनका कारण जिल्लामा थप सहज भएको छ ।
मलेखु सबस्टेसनका कारण धादिङमा सहज रूपमा विद्युत् प्रवाहका अलावा अन्य प्रत्यक्ष फाइदा भएको हुवासिन नारायणी सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले जानकारी दिए ।
