अन्तर्राष्ट्रिय छविमा नेपाललाई नयाँ उचाइमा लैजान पर्यटन–कूटनीति जोडिने
काठमाडौँ । कोभिड महामारीपछिको पुनरुत्थान, क्षेत्रीय प्रतिस्पर्धा र बदलिँदो विश्व पर्यटन बजारको सन्दर्भमा नेपालले आफ्नो अन्तर्राष्ट्रिय पहिचानलाई थप प्रभावकारी बनाउने प्रयास तीव्र पारेको छ। यही सन्दर्भमा नेपाल पर्यटन बोर्ड (एनटीबी) र परराष्ट्र मन्त्रालयको संयुक्त पहलमा ‘नेपाल प्रवर्द्धनका लागि साझेदारी’ विषयक कार्यशाला आयोजना गरिएको हो।
कार्यशालाले पर्यटन, सार्वजनिक कूटनीति र सांस्कृतिक कूटनीतिलाई एउटै राष्ट्रिय ब्रान्डिङ रणनीतिमा आबद्ध गर्दै नेपाललाई विश्व बजारमा सशक्त रूपमा प्रस्तुत गर्ने दिशामा साझा धारणा निर्माण गरेको छ। कार्यक्रममा पर्यटनलाई नेपालको ‘सफ्ट पावर’ को सबैभन्दा प्रभावकारी माध्यमका रूपमा अघि बढाउने विषयमा जोड दिइयो।
कार्यशालालाई सम्बोधन गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईले पर्यटन नेपालको अन्तर्राष्ट्रिय छविको सबैभन्दा जीवन्त अभिव्यक्ति भएको उल्लेख गरे। उनले विश्व समुदायसमक्ष नेपाललाई चिनाउन आत्मविश्वासपूर्ण, सुसंगत र प्रामाणिक कथावाचन (स्टोरी टेलिङ) आवश्यक रहेको धारणा राख्दै पर्यटन र सार्वजनिक कूटनीतिले राष्ट्रिय गरिमा र अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धिमा ठोस योगदान दिन सक्ने बताए।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बदलिँदो विश्व सन्दर्भमा पर्यटन प्रवर्द्धन अब केवल प्रचारमा सीमित नरही कूटनीतिक समन्वयसँग जोडिनुपर्ने आवश्यकता औंल्याए। सरकारी निकाय, कूटनीतिक नियोग, निजी क्षेत्र र नीति अनुसन्धान संस्थाबीच सहकार्य भए नेपाललाई दीर्घकालीन रूपमा बलियो गन्तव्यका रूपमा स्थापित गर्न सकिने उनको भनाइ थियो।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव तथा शिष्टाचार महापाल कुमारराज खरेल, सार्वजनिक कूटनीति महाशाखा प्रमुख लोकबहादुर पौडेल क्षेत्रीसहित कूटनीतिज्ञहरूले विदेशस्थित नेपाली नियोगमार्फत पर्यटन बोर्डसँग सहकार्य गर्दै नेपाल प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका विभाग, नीति अनुसन्धान प्रतिष्ठान र अन्य वरिष्ठ सरकारी अधिकारीहरूको सहभागितासहित सम्पन्न कार्यशालाले पर्यटन, संस्कृति र कूटनीतिलाई एउटै राष्ट्रिय ब्रान्डिङ दृष्टिकोणमा जोड्दै अघि बढ्ने साझा निष्कर्ष निकालेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
