स्मार्टफोन नियन्त्रण कडा बनाउँदै बेलायत सरकार
Tourism Face Banner News, NEWS 0
फाइल तस्वीर
लन्डन । बेलायत सरकारले विद्यालय शिक्षामा स्मार्टफोनको प्रभाव नियन्त्रण गर्न नयाँ कडाइ लागू गर्ने भएको छ। अब विद्यालय निरीक्षणका क्रममा मोबाइल फोन प्रयोगसम्बन्धी नियम प्रभावकारी रूपमा पालना भइरहेको छ कि छैन भन्ने विषय अनिवार्य रूपमा मूल्यांकन गरिनेछ।
सरकारले विद्यालयलाई ‘डिफल्ट फोन–फ्री जोन’ का रूपमा घोषणा गर्ने नीति अघि सारेको छ। यसअनुसार विद्यालय परिसरभित्र विद्यार्थीका लागि मोबाइल फोन प्रयोग सामान्य रूपमा निषेध हुनेछ, विशेष अवस्थाबाहेक अनुमति नदिइने सरकारको भनाइ छ।
बालबालिकामा मोबाइल फोन र सामाजिक सञ्जालको बढ्दो प्रयोगप्रति चासो व्यक्त गर्दै सरकारले यस विषयमा राष्ट्रव्यापी परामर्श प्रक्रिया पनि सुरु गरेको छ। अत्यधिक स्क्रिन समयले बालबालिकाको मानसिक स्वास्थ्य, सिकाइ क्षमता र सामाजिक व्यवहारमा नकारात्मक प्रभाव पारिरहेको निष्कर्षका आधारमा यो कदम चालिएको हो।
सरकारका अनुसार यो नीति बालबालिकाका लागि सुरक्षित, अनुशासित र सन्तुलित डिजिटल वातावरण निर्माण गर्ने दीर्घकालीन रणनीतिको हिस्सा हो। पछिल्लो समय अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन र सांसदहरूबाट विद्यालयमा स्मार्टफोन प्रयोग नियन्त्रण गर्न सरकारमाथि दबाब बढ्दै गएको थियो।
परामर्श प्रक्रियामार्फत अभिभावक, विद्यार्थी, शिक्षाविद् तथा नागरिक समाजका प्रतिनिधिबाट सुझाव संकलन गरिनेछ। ती सुझावका आधारमा बालबालिकाले प्रविधिसँग जिम्मेवार र स्वस्थ सम्बन्ध विकास गर्न सक्ने उपायहरू तय गरिने सरकारको अपेक्षा छ।
सरकारी तथ्याङ्कले हाल विद्यमान नियम पर्याप्त रूपमा कार्यान्वयन नभएको देखाएको छ। माध्यमिक तहका ५८ प्रतिशत विद्यार्थीले कक्षाकोठामा अनुमति बिना मोबाइल प्रयोग हुने गरेको बताएका छन् भने माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरूमा यो दर ६५ प्रतिशतसम्म पुगेको छ। एजेन्सीको सहयोगमा
फाइल तस्वीर
