काठमाडौं । देशभर चिसो मौसम जारी रहे पनि आकाश सफा र हल्का कुहिरोले सजिएको छ। यस्तो मौसमका कारण हिमालका टाकुराहरू स्पष्ट देखिनुका साथै काठमाडौं उपत्यकाको दृश्य झनै मनमोहक बनेको छ। यही अवसरमा विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पर्यटकहरूको चहलपहल बढेको छ।

स्वयम्भूको डाँडाबाट उपत्यका नियाल्दा पुराना मन्दिरहरूले सजिएको शहर, टाढासम्म फैलिएको बस्ती र चिसो हावामा मिसिएको शान्त वातावरणले पर्यटकलाई विशेष अनुभूति दिलाइरहेको छ। सदियौँदेखि स्वयम्भूका आँखाबाट नियालिँदै आएको यो उपत्यकाले आज पनि आत्माको शान्ति र प्रकृतिको महिमालाई एकसाथ प्रस्तुत गरिरहेको छ।

चिसो तर सफा मौसममा घामका किरणले स्तुपको सुनौलो गजुर झन् चम्किलो देखिन्छ। तल उपत्यकामा घरहरूको लहर, टाढा देखिने हिमशृङ्खला र आकाशमा उडिरहेका चराहरूले दृश्यलाई अझै आकर्षक बनाइदिएका छन्। यही दृश्य कैद गर्न र अनुभूति गर्न विभिन्न देशका विदेशी पर्यटकहरू यहाँ भेला भएका छन्।

जाडो याममा पनि पर्यटक आगमन निरन्तर बढ्दै गएको देखिन्छ। स्वयम्भूनाथजस्ता ऐतिहासिक तथा धार्मिक स्थलहरूले नेपालको सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्।
तस्बिरहरू : न्युज एजेन्सी नेपाल