मनास्लु आरोहणमा बढ्दो आकर्षण, ३४८ आरोहीले लिए अनुमति
गोरखा — शरद ऋतु सुरु भएसँगै मनास्लु हिमाल आरोहणका लागि विदेशी तथा स्वदेशी पर्वतारोहीको चहलपहल बढेको छ। यस सिजनमा मात्रै २९ आरोहण टोलीका ३४८ जनाले आठ हजार मिटरभन्दा अग्लो मनास्लु चढ्न अनुमति लिएका छन्।
पर्यटन विभागको पछिल्लो तथ्यांकअनुसार शरद ऋतुका लागि हालसम्म ३२ टोलीका ३६७ आरोहीले विभिन्न हिमाल आरोहणको अनुमति लिएका छन्। तीमध्ये अधिकांश अर्थात् ३४८ जना मनास्लु आरोहणका लागि आएका हुन्।
आरोहण अनुमतिबाट सरकारले यस सिजनमा हालसम्म १५ करोड ९६ लाख २० हजार ८२८ रुपैयाँ रोयल्टी संकलन गरिसकेको छ। त्यसमध्ये मनास्लु आरोहणबाट मात्रै १५ करोड ८७ लाख ५६ हजार २५० रुपैयाँ राजस्व प्राप्त भएको विभागले जनाएको छ।
गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा रहेको ८ हजार १६३ मिटर अग्लो मनास्लु पछिल्ला वर्षमा पर्वतारोहीको प्रमुख रोजाइ बन्दै गएको छ। विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमाल मनास्लुलाई आरोहीहरूले चुनौतीपूर्ण हिमालका रूपमा लिने गर्छन्।
बेसक्याम्पमै बढ्यो चहलपहल
आरोहणको मुख्य सिजन सुरु भएसँगै सामागाउँमा आरोही र उनीहरूका सहयोगीको बाक्लो उपस्थिति देखिन थालेको छ। आरोहणका लागि शेर्पा टोलीले बेसक्याम्प आसपास क्याम्प तयार पार्नुका साथै चुचुरोतर्फ जाने बाटो निर्माणको काम गरिरहेको छ।
मनास्लुको अर्को विशेषता यसको बेसक्याम्प गाउँको तुलनात्मक रूपमा नजिक हुनु हो। सामागाउँबाट करिब दुई घण्टाको पैदल यात्रापछि बेसक्याम्प पुग्न सकिने भएकाले पनि यो हिमाल आरोहीका लागि आकर्षक मानिन्छ।
मौसम र आरोहणको तयारीअनुसार बेसक्याम्पबाट चुचुरोसम्म पुग्न आरोहीलाई एक सातादेखि एक महिनासम्म लाग्न सक्छ।
आरोहणसँगै स्थानीय पर्यटनलाई फाइदा
मनास्लुमा आरोहीको संख्या बढेसँगै चुमनुब्री क्षेत्रको पर्यटन व्यवसायसमेत चलायमान हुने गरेको छ। आरोहीसँगै गाइड, भरिया, शेर्पा, होटल तथा होमस्टे व्यवसायी र अन्य स्थानीय सेवा प्रदायकले आम्दानीको अवसर पाउने गरेका छन्।
सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलोपटक मनास्लुको सफल आरोहण गरेका थिए। त्यसयता मनास्लु विश्व पर्वतारोहणको नक्सामा महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ।
पछिल्ला वर्षमा आरोहण अनुमति लिनेको संख्या बढ्दै जानुले मनास्लुको अन्तर्राष्ट्रिय आकर्षण विस्तार हुँदै गएको संकेत गरेको छ। हिमाल आरोहणसँगै सामागाउँ र आसपासका पदयात्रा गन्तव्यलाई जोड्न सके यस क्षेत्रको पर्यटन आम्दानी अझ बढाउन सकिने सम्भावना देखिन्छ।
