७ महिनापछि काठमाडौं महानगरको बैठक, तर १ मिनेटमै सकियो !

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन)ले आइतबार नगरसभाको घोषणा गरेर कार्यपालिका बैठक अन्त्य गरेका छन् ।
सात महिना पछि बसेको कार्यपालिका बैठकमा उनले १ मिनेट ८ सेकेन्डमा आफ्नो भनाइ राख्दै बैठक टुङ्ग्याएर जुरुक्क उठेर हिँडेका हुन् ।
उनले उपप्रमुख सुनिता डङ्गोललाई सम्बोधन गरेपनि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई भने सम्बोधन गरेनन् ।
यस अघिका कार्यपालिका बैठकहरुमा भने उनलेे प्रमुख प्रशासकीय अधिकृतलाई पनि सम्बोधन गर्ने गरेका थिए । उनले एकमुष्ट रुपमा ‘कर्मचारीज्यूहरु’ भन्दै सम्बोधन गरेका हुन् ।
महानगरको कार्यपालिकामा आज २४ वटा एजेण्डाहरु रहेपनि उनलेे १ नम्बरको एजेन्डा मात्रै बैठकमा प्रस्तुत गरेका हुन् ।
काठमाडौं महानगरको बजेट आइतबार पेस गर्ने प्रस्ताव राखेर बैठक सकिएको घोषणा गरेपछि उपस्थित सबैजना अचम्मममा परेका थिए ।