विद्युत् नियमन आयोगद्वारा पहिलोपटक वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक

विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल
टुरिजमफेस
काठमाडौं । विद्युत् क्षेत्रको नियामक निकाय विद्युत् नियमन आयोगले पहिलोपटक आफ्नो वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । नेपालको संविधान, सरकारको नीति र ऊर्जा विकास मार्गचित्र, २०८१ को मार्गदर्शन अनुसार तयार पारिएको उक्त योजना तथा कार्यक्रममा विद्युत् क्षेत्रको सुधार गर्ने, विद्युत सेवालाई सर्वसुलभ, भरपर्दो र सुरक्षित बनाउने, उपभोक्ताको हित संरक्षण गर्ने तथा यस सम्बन्धमा नियामकीय उपकरण तर्जुमा गर्नेलगायतका उद्देश्यलाई प्राथमिकतामा राखिएको छ ।
आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले २७९ औँ बैठकबाट आयोगको प्रथम वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरिएको बताए । “सर्वसुलभ, भरपर्दो तथा सुरक्षित विद्युत् सेवा हरेक विद्युत् उपभोक्ताको अधिकार” भन्ने मूल नारा अनुरूप आयोगको वार्षिक योजना तथा कार्यक्रम तयार पारिएको उनले बताए । आर्थिक वर्ष २०८२/८३ मा आयोगले नियामकीय संरचना विस्तार तथा सवलीकरण र संस्थागत सुदृढीकरणलाई मुख्य लक्ष्यका रूपमा लिएको छ ।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२/८३ मा आयोगले जलविद्युत् आयोजनाहरूको विद्युत् खरिद बिक्री सम्झौतामा समयानुकूल संसोधन सम्बन्धी उपयुक्त रणनीति तय गर्ने तथा जलविद्युत् आयोजनाको उत्पादन लागत निर्धारण सम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्ने योजना बनाएको छ । साथै, विद्युत् आयोजनाहरूको प्राविधिक तथा वित्तीय प्रगति यकिन र मुल्यांकन गर्न स्वतन्त्र तेस्रो पक्ष वा परामर्शदातामार्फत मुल्यांकन गर्ने सम्बन्धी व्यवस्था मिलाउने योजनामा उल्लेख गरिएको छ ।
यस प्रकारका मुल्यांकनले आयोजना निर्माणको वास्तविक प्रगति यकिन गर्न सहज हुनुका साथै लगानीकर्ताहरूलाई स्पष्ट जानकारी उपलब्ध गराई लगानी निर्णयमा सहुलियत पुग्ने अपेक्षा आयोगले लिएको छ । आयोगले आफ्नो योजना तथा कार्यक्रममार्फत उपभोक्तामैत्री सेवा प्रवाहका लागि गुनासो सुनुवाइ संयन्त्रको विकास, विद्युत् उपभोक्ता मञ्चको गठन, तथा प्रादेशिकस्तरमा सार्वजनिक सुनुवाइ कार्यक्रम समेत संचालन गर्ने उल्लेख गरेको छ ।
त्यसैगरी, आयोगले आफ्ना कामकारबाहीलाई छिटोछरितो, सेवाग्राहीमैत्री, प्रविधिमैत्री र कागजरहित बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याएको डकुमेन्ट म्यानेजमेन्ट सिस्टम प्रणालीको क्षमता अभिवृद्धि गर्ने र विद्यमान विद्युत् खरिद बिक्री सम्झौताको विषयवस्तु तथा ढाँचामा आवश्यक पुनरावलोकन गरिने लक्ष्य लिएको छ । विद्युत् प्रणालीलाई दीर्घकालीन रूपमा भरपर्दो, नियमित र सन्तुलित आपूर्ति सुनिश्चित गर्न आयोगले जलाशययुक्त, पम्प स्टोरेजजस्ता ऊर्जा भण्डारणयुक्त प्रविधिहरूका लागि उचित, पारदर्शी तथा उपभोक्तामैत्री महसुल दर निर्धारण गर्ने योजना अघि सारेको छ ।
विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल