बूढीगण्डकीमा आकस्मिक बाढीले तीन पुल बगायो, घर र बस्तीमा क्षति
गोरखा । गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाएको छ। बाढीका कारण विभिन्न स्थानमा घर तथा बस्तीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ स्थित न्याकचेत र सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। त्यसैगरी, धार्चे गाउँपालिका–५ को माछिखोलाबाट केरौजा जोड्ने अर्को झोलुङ्गे पुल पनि बाढीको चपेटामा परेको छ।
बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बगाएको छ। पुलहरूमा क्षति पुगेपछि स्थानीय बासिन्दाको आवतजावतमा समस्या हुने देखिएको छ।
चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि एक्कासि बाढी आएको बताइएको छ। नदीमा पानीको बहाव बढ्दा आसपासका बस्तीमा क्षति पुगेको हो।
बाढीले चुमनुब्री गाउँपालिका–३ सिर्दिबासका रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा पानी पसेको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाको तल्लो बस्तीमा पनि बाढी पसेको छ। उक्त क्षेत्रमा पाँचदेखि सातवटासम्म घर र त्यति नै संख्यामा टहरामा बाढी पसेको प्रारम्भिक विवरण छ।
बाढीका कारण भएको क्षतिको थप विवरण तथा प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी संकलन भइरहेको छ।
